Fast Nepal News
Before Breaking News

प्रहरी र ट्रान्सजेन्डरको आ-आफ्नै दाबी

बिहीबार बेलुका साढे आठ बजे बाटोमा हिँड्‌ने व्यक्तिलाई हैरानी दिएको जनगुनासो आएपछि प्रहरी टोलीले १३ परलैङ्गिक (ट्रान्सजेन्डर)हरूलाई सोधपुछका लागि प्रहरी प्रभाग नयाँ बसपार्क लग्यो । सोधपुछका क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको भन्दै शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एक प्रेश विज्ञप्ति सार्वजनिक गर्यो । विज्ञप्तिमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरी टेबुलको सिसा फुटाइको र त्यही सिसाले प्रहरीमाथि प्रहार गरी चोट पुर्याउन खोजिएको उल्लेख गरिएको छ ।

सो समुहले प्रहरी कार्यालय तोडफोड गर्नुका साथै ढुङ्गामुडा समेत गरेको प्रहरीले जनाएको छ । तर, निलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले उनीहरूमाथि प्रहरीले ज्यादती गरेको बताउँछिन् । ‘बिना गल्ती उनीहरूलाई समातेर कुटपिट गर्ने काम भएको छ,’ उनी भन्छिन्, ‘लाठी र बन्दुकको पछाडिपट्टीको भागले मरणासन्न हुनेगरी कुटिएको छ ।’ उनका अनुसार सञ्जु लामा र क्रिस्टिना कालीलाई टाउकोमा गहिरो चोट लागेको छ । उपचारका लागि उनीहरूलाई हालत ग्रिनसीटी अस्पतालमा राखिएको छ ।

तर, यता प्रहरीले आफूहरूले उनीहरूमाथि हातपात नगरेको बताएको छ । ‘प्रहरीले हातपात नगरेको भए हाम्रा साथीहरू कसरी घाइते भए,’ अध्यक्ष गुरुङ भन्छिन्, ‘अस्पतालमा भेट्‌न जाँदा उनीहरूको जिउमा लौराको सुम्ला छ । टाउकोमा पाँच टाका लगाइएको छ । उनीहरू डराएर केही पनि बोल्न सकिरहेका छैनन् ।’ चौकीमा भएकालाई समेत टर्चर दिने काम भइरहेको उनी बताउँछिन् ।

‘तिमीहरूलाई यत्तिकै छाड्दैनौँ’ भनेर ‘टर्चर’ दिने काम भइरहेको छ,’ उनी भन्छिन्, ‘बिनागल्ती यत्तिकै कसैलाई पनि सडकबाट उठाएर लैजान पाँइदैन । कि त प्रहरीको आवेदन खुल्दा तेस्रो लिङ्गीको कोटा राखिदिनुपर्यो । नत्र उनीहरूको पनि रोजीरोटीको सवाल छ ।’ यता, महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रदिपकुमार श्रेष्ठले गल्ती नभएसम्म प्रहरीले कसैमाथि पनि हस्तक्षप नगर्ने बताउँछन् ।

‘प्रहरीले कानुनले जे भन्छ त्यही गर्ने हो,’ उनी भन्छन्, ‘कसैले कानुनको उल्लङ्घन गर्छ भने त्यसलाई दण्डित गर्ने काम प्रहरीको हो । झडपमा उनीहरूलाई मात्र होइन प्रहरीलाई पनि चोटपटक लागेको छ ।’

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.