Fast Nepal News
Before Breaking News

भारतिय पत्रकार बिना अनुमती हेलिकप्टरमा कालापत्थर पुगेको खुलासा

भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको पाइएको छ। १७ हजार फिटमाथि रहेको कालापत्थर क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ। त्यहाँ हेलिकप्टर लैजाँदा अनुमति लिनुपर्छ। सुधीर चढेको हेलिकप्टर भने बिना अनुमति त्यहाँ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।

उनले नेपाल समयसँग भने, ‘हामीसँग कुनै अनुमति लिइएको छैन।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पनि निकुञ्ज क्षेत्रमा भारतीय पत्रकार चढेको हेलिकप्टर अवतरणका लागि कुनै अनुमति नलिइएको जानकारी दिए। आचार्यका अनुसार सार्क मुलुकका नागरिक कालापत्थरमा पुग्दा प्रतिव्यक्त १५०० रुपैयाँ शुल्क लिने गरिन्छ।

यस्तै छायांकन गर्दा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ भने हेलिकप्टर अवतरण गर्दा तीन हजार रुपैयाँ शुल्क लिने गरिन्छ। हेलिकप्टरमा कालापत्थर पुगेका चौधरीले सगरमाथामाथि भारतले दाबी गर्नुपर्ने अभिव्यक्ति दिँदै ‘माउन्ट एभरेस्टको सट्टा माउन्ट सिकदर’ बनाउने अभियान थाल्नुपर्ने बताए। कालापत्थर पुगेर सगरमाथाको नाम फेर्ने अभिव्यक्ति दिएसँगै उनको विरोध भइरहेको छ। जी न्युजको टिम प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएको थियो। सोही क्रममा उनीहरू हेलिकप्टर चढेर कालापत्थर पुगेका थिए।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.