प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाला चतुर्दशीमा लाखौँ भक्तजनपशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन् । प्रत्येक मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिमा दीपदान गर्न जाने गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–६ का श्रीराम सापकोटा नजिकैको शिवालयमा दिपदानको तयारी गरिएको बताउछन् । शतबीज भनिए पनि हाल सप्तबीज ‘धान, जौ, तिल, गहुँँ, चना, मकै, कागुनो’ छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ ।