काठमाडौँ,१० मंसिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् ।मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् ।
उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गरेका हुन् ।साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जानकारी दिएको छ । उनी ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।