नारायणी फिल्मसको ब्यानरमा बन्न लागेको सामाजिक चलचित्र “शुभ सन्ध्या”को झापामा मुहुर्त गरिएको छ। फाल्गुन ३० गते झापामा मुहुर्त गरिएको चलचित्र ५ दिन त्यहाँ आसपासका सुन्दर क्षेत्रमा छायांकन सकाएर चितवन फर्किएको छ। बाँकी कथावस्तुको छायांकन चितवनको सौराहा, नारायणी किनार, सिमलढाप जस्ता सुन्दर स्थानमा गरिने फिल्म युनिटले जानकारी दिएको छ।
चलचित्रले नेपाली गाउँ समाजमा हुने जातिय विभेदले निम्त्याउने द्वन्द र अप्रिय घटनाको बारेमा उजागर गर्दै सबै जातजाति समान छन् र कसैले पनि भेदभाव गर्नु हुँदैन भन्ने सन्देश दिने विश्वास लिएको निर्माता तथा निर्देशक अमिर बरालले बताउनुभयो। चलचित्रमा सचित राज सेढाई, बन्धना न्यौपाने, मिना ढुंगाना, सि।पी। पौडेल, दिपक अधिकारी, अनिशा बराल, किरण गौतम, रिजन खरेल लगायतको अभिनय रहनेछ भने बाल कलाकारमा लियोन प्रसाईं र प्रयास सेढाईको अभिनय देख्न सकिनेछ।
अङ्गत श्रेष्ठको कथा रहेको चलचित्र चर्चित छायांकार रवि कोइरालाले छायांकन गरेका हुन् भने सम्पादन किरण अधिकारीले गर्नेछन् । चलचित्र छिट्टै च्यारिटि शो मार्फत विभिन्न हलहरुमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ।