बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको छ । खोटाङ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ बस्ने वरुण ढकाललाई प्रहरीले पक्राउ गरेको हो । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिएअनुसार ढकालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारेर रु ६१ लाख बढीको चेक काटिदिएका थिए ।