Fast Nepal News
Before Breaking News

दक्षिण एसियाकै खुशी मुलुक बन्यो नेपाल

राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुशि देशहरुको सूचिमा नेपाल ८७ औं स्थानमा परेको छ ।रिपोर्टका अनुसार नेपाल यो रिपोर्टमा दक्षिण एसियाली देशहरुमध्ये शीर्ष स्थानमा छ ।विश्वव्यापी बरियतामा नेपाल ८७ औं स्थानमा छ र नेपालको अंक ५.२६९ छ ।

यो अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष नेपाल ९२ औं स्थानमा थियो र त्यस वर्ष नेपालको अंक ५.१३७ थियो । यद्यपि छिमेकी देश चीनको प्रगति भने नेपालको भन्दा बढी छ । अघिल्लो वर्ष चीन नेपालभन्दा पछाडि ९४ औं स्थानमा थियो र उसको अंक ५.१२४ थियो ।

अहिले भने चीन नेपाललाई उछिन्दै ५.३३९ अंकका साथ ८४ औं स्थानमा आएको छ ।त्यस्तै युरोपेली मुलुक फिनल्यान्ड लगातार चौथोपटक विश्वकै सबैभन्दा खुसी राष्ट्र बनेको छ । संयुक्त राष्ट्रसंघको ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ का अनुसार सन् २०२० मा पनि यहाँका नागरिकलाई सबैभन्दा बढी खुसी पाइएको हो ।रिपोर्टका अनुसार डेनमार्क दोस्रो स्थानमा छ ।

स्विट्जरल्यान्ड, आइसल्यान्ड र नेदरल्यान्ड्स क्रमशः तेस्रो चौथो र पाँचौं स्थानमा छन् । न्युजिल्यान्ड यो सूचीको शीर्ष १० मा पर्ने एकमात्र गैरयुरोपेली मुलुक हो । बेलायत १३औं स्थानबाट ३ स्थान तल खस्किँदै १७ ‍औं स्थानमा पुगेको छ । सूचीमा सबैभन्दा कम खुसी मुलुकमा अफगानिस्तान छ ।

विश्वका १४९ मुलुकमा गरिएको सर्वेक्षणका आधारमा उक्त नतिजा निकालिएको हो । सर्वेक्षणमा सहभागी हुनेलाई आफ्नो सामाजिक जीवन, व्यक्तिगत स्वतन्त्रता, जीडीपी, भ्रष्टाचारको स्तरका आधारमा आफ्नो खुसीको तह बताउन भनिएको थियो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.