Fast Nepal News
Before Breaking News

बाहिर सुने जस्तो सजिलो छैन पोर्चुगल:एक खोज

तेजिन्द्र चालिसे (पोर्चुगल): गोर्खालि,बहादुर,सरल, सोझा,लगनशिल र इमान्दारको उपमा पाएका नेपालीहरुको साख युरोपको शक्तिशाली देश पोर्चुगलमा भने घट्दै गएको छ। गैरकानुनी क्रियाकलापमा नेपालीहरुको पनि संलग्नता देखिएपछि साख गिर्दै गएको हो। साउथ एशियाका अन्य नागरिकभन्दा नेपालीहरुलाई इमान्दारको रुपमा हेरिने पोर्चुगलमा खेतीमा काम गराउने एजेन्टको रुपमा कम्पनी खोलेका नेपालीहरुमध्ये दुईजनालाई गैरकानुनी काम गरेको भन्दै पोर्चुगल अदालतमा मुद्दा परेको कुरा ,त्यस्तै सोसल नम्बर काण्डमा नेपालीहरु मुछिएको समाचार आदिले पोर्चुगलमा नेपालीहरुको शिर झुकायो।

त्यस्तै भर्खर आएका नेपालीहरुलाइ लुट्ने नेपाली लुटेराहरुको पनि कमि छैन पोर्चुगलमा। खेतीमा कामदारहरु लैजाने तर काम गरे बापतको रकम नदिने केहि कम्पनीहरुका कारण केहि समय अगाडि अध्यागमन विभाग ‘सेफ’ अन्र्तगतको अनुसन्धान विभागले सर्च अभियान नै सञ्चानल गरेको थियो। यदाकदा कामदारहरुले उचित रकम नपाएको गुनासो पनि सुनिन्छ । आधिकारिक तथ्याङ्क नभए पनि करिब ३० हजारको हाराहारीमा नेपालीहरु पोर्चुगलमा रहेको मानिन्छ।

युरोपका अन्य देशहरुमा भन्दा पोर्चुगलमा स्थायी अनुमतिपत्र छिटो पाइने भएकोले आप्रबासीहरुको पहिलो रोजाई पोर्चुगल बनेको छ। युरोपका अन्य देशहरुमा स्टुडेन्ट वा कुनै प्रोग्राम भिसामा आउने र पोर्चुगल छिरेर कार्ड बनाउने उद्देश्य भएका नेपालीहरु केही वर्षयता व्यवसायतर्फ आकर्षित भएका छन्। केही कानुनी रुपमै काम गर्छन्। तर, केहीले गैरकानुनी रुपमा छिटो पैसा कमाउने उद्देश्यले नेपालीहरुलाई नै ठग्ने काम पनि गर्दै आएका छन्। बिद्यार्थी भिसामा डेनमार्क ,नर्बे,जर्मनी ,नेदरल्यान्ड आदि देशमा आउछन् अनि भिजा सकिएपछी पोर्चुगल छिर्नेको संख्या पनि धेरै छ ।नेपालवाट सिधै वर्क परमिटमा कामदार झिकाउनको लागि खेती कम्पनीलाई बल्छीको रुपमा प्रयोग गरिएको छ।

अझै अर्का थरी पनि छन्, जो नेपालबाट भारत, इराक, टर्की, फ्रान्स हुँदै मृत्युसँग लडेर बल्लतल्ल पोर्चुगल छिरेका छन्।केही नेपालीहरु खाली खुट्टा हिँड्दै गरेको बिजोग अवस्थामा पनि भेटिन्छन्। उनीहरुले पाएको पीडा सुन्दा लाग्छ, उनीहरु नाफाको जिन्दगी बिताइरहेका छन्। पोर्चुगल छिरेपछि मुश्किलले काम भेटिन्छ। लाखौं रकम तिरेका उनीहरु पैसा कमाउनुभन्दा आफू सुरक्षित भएकोमा खुसी छन्। सानोतिनो गुजारा चल्ने काम भेटिन्छ। सरकारलाई कर पनि तिरेका छन्। निश्चित समय पुगेपछि युरोपको अस्थायी बसोबास कार्ड पाउछन्।

त्यसैमा ढुक्क छन्, उनीहरु। अनि सबै पीडा बिर्सने प्रयास गरेका छन्। दलाललाई पैसा दिएर नेपालबाट सिधै खेतीका लागि आएकाहरु कामबाट निकालिने डरले दलालको नाम नै भन्दैनन्। काम भइरहेको छ। पछि कार्ड बन्नेछ। त्यसैमा मख्ख छन्। लाखौं रकम तिरेर गैरकानुनी रुपमा पोर्चुगल छिरेकाहरु केही भने नेपालमा बेइज्जत होला भनेर खुल्न चाहँदैनन्। पोर्चुगल आएपछि कार्डको प्रकृयाबारे अनभिज्ञ नयाँ नेपालीहरु स्वयं नेपालीबाटै ठगिन्छन्। सुरुमा यहाँको ‘फिनान्स नम्बर’ निकाल्नुपर्छ, त्यसमा कुनै शुल्क लाग्दैन तर केहि नेपालीहरुले फिनान्स भरेबापत ५० देखि एक सय युरो सम्म लिने गरेका छन्।

पोर्चुगलमा सोसल सेगुरान्स नम्बर’ लिएपछि मात्र यहाँको सरकारलाई काम गरेको ट्याक्स तिर्ने बाटो खुल्छ। सामान्यतया काम गरेपछि प्रकृयागत रुपमा यो आफै आउने नम्बर हो केहि समय अगाडी सम्म २ देखि ३ महिना लाग्ने भएपनि गत जनवरी देखि तुरुन्तै पाउन सकिने भएको छ तर कन्ट्याक्टको पैसा भन्दै २०० देखि ३०० युरो सम्म लिने नेपालीहरु चोकचोकमा भेटिन्छन्। नम्बर निकालिदिन्छु भनि मोटो रकम लिएर फरार भएका प्रशस्त गुनासो समेत सुनिन्छ । काम लगाइदिने सर्तमा अग्रिम रकम लिनेहरु पनि छन । केही वर्ष अघि यस्ता गुनासाहरु प्रशस्तै सुनिन्थे तर अहिले भने केही कम भएको महसुस भने हुन्छ ।लिस्बनमा मात्र होइन खेतीमा काम गर्नेहरु पनि ठगिन्छन्।

पोर्चुगलको स्थायी बसोबास पत्र बन्ने आशमा नेपालीहरुले खोलेका खेती कम्पनीहरुमा काम गर्नेहरु यस्तो वर्गमा पर्छन्। करार पत्रमा धेरै तलब उल्लेख गरिएको हुन्छ। उनीहरुले न्युनतम मापदण्डअनुसार सरकारलाई कर तिर्ने सर्त मानिरहेका हुन्छन् तर काम गरे बापतको पैसा भने थोरै लिइरहेका हुन्छन्। यस्ता कामदार र कम्पनीवाला बीच मौखिक सम्झौता हुनेगर्छ। कागजीरुपमा धेरै तलब देखिने तर खासमा थोरै तलब हुने। कामदारलाई कर जाने र कार्ड छिटो बन्ने आश हुन्छ। उता, कम्पनीवालाहरुलाई भने सस्तो कामदार मिल्छ । खेतीमा सामान्य तथा घण्टाको आधारमा ज्याला भुक्तान गरिन्छ।

कुनै कम्पनीमा कामदारले टिपेको कृषि उत्पादनहरुको तौलको आधारमा ज्याला दिने गरिन्छ। कर्मचारीहरुको सम्पर्क सिधै मालिकहरुसँग हुदैन। त्यसैले बीचमा मोटो कमिसन खाने एजेन्टहरु हुन्छन्। उनीहरुसँग श्रमसम्झौता गरेर काममा जानुपर्ने हुन्छ। यसरी काममा जाँदा कामदारहरु सोझै मारमा पर्ने गरेका छन्। भाषाको अनभिज्ञताका कारण कामदारहरुले कमसल कामको सम्झौतापत्रमा समेत हस्ताक्षर गर्ने गरेका छन्। पोर्चुगलमा दुई दर्जनभन्दा बढी संघसंस्था छन्। उनीहरुको ध्यान पीडित नेपालीहरुको पक्षमा गएको देखिदैंन। उनीहरुको उपस्थिति कार्यक्रममा मात्र देखिने गर्दछ । नयाँ व्यक्ति पोर्चुगल आउँदा परामर्श सवालमा दोधारमा परेको अनुभव सोयम मेरो आफ्नो छ ।

पोर्चुगलको लिस्वनमा अवैतनिक वाणिज्य दूतावास रहेको जानकारी सम्म कति लाई छैन जानकारी भएका नेपालीहरु स्वयंले पनि खासै उपभोग गरेको जस्तो मलाई लाग्दैन। पोर्चुगलमा आएका नेपालीहरुको पीडा आफ्नै होला। दुःख पनि आफ्नै होला। उनीहरुको एउटै मात्र सपना रातो पासपोर्ट हो। पोर्चुगलको पासपोर्ट संसारको छैटौं शक्तिशाली मानिन्छ। नियमले ६ वर्ष पूरा गरेपछि पासपोर्टको लागि निवेदन दिन पाइने कानुन छ। युरोपका अन्य देशहरुमा बैधानिक हुने बाटो पोर्चुगलको भन्दा निकै कठिन छ। छिटो पैसा कमाउने उदेश्यले नेपालीले नेपालीलाई नै ठग्ने कुरा सारै निन्दनीय छ।

थप समाचार
1 Comment
  1. mohan says

    सहि हो बिदेश मा त नेपाली र आफ्नो मान्छे बाट धेरैले होशियार हुनुपर्ने रछ

कमेन्ट गर्नुहोस

Your email address will not be published.