Fast Nepal News
Before Breaking News

अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत युवकको मृत्यु

अमेरिकाको मिनेसोटामा प्रहरीको गोली लागेर एक अश्वेत युवाको ज्यान गएको छ। मिनेसोटाको ब्रूक्लीन सेन्टरमा आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा ज्यान गएको हो । प्रहरीले दुर्घटनावश राइटमाथि गोली प्रहार भएको बताएको छ । प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले हतकडी लगाउन खोजे पनि उनी आफ्नो कारमा चढेर जाने प्रयास गरेका थिए ।

त्यसपछि पक्राउका लागि प्रहरीले उनलाई टेजर प्रहार गर्न भनेको थियो । भाग्न खोजेका व्यक्तिलाई इलेक्ट्रिक सक दिनका लागि प्रहार गरिने बुलेट जस्तो तर घातक नहुने प्रहार टेजर हो । तर महिला प्रहरी अधिकारीले भुलबस गोली प्रहार गरेकी हुन् । गोली लागेका राइट गाडी लिएर अघि बढेका थिए । प्रहरी अधिकारीले आफूले टेजरको साटो गोली प्रहार गरेको साथीहरुलाई बताएकी थिइन् । केही पर पुगेपछि राइटको गाडी दुर्घटनामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राइटको मृत्युपछि विरोध प्रदर्शन भएका छन् । स्थानीय प्रशासनले कर्फ्यू लागु गरेको छ । मिनेसोटाको मिनियापोलसमा जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारीमाथिको सुनुवाई जारी रहँदा तनाव उच्च रहेका बेला ब्रूक्लीन सेन्टरमा नयाँ घटना भएको हो । स्थानीय प्रहरी प्रमुख टिम ग्याननले स्थानीय समय अनुसार सोमबार बिहान पत्रकार सम्मेलनमा महिला प्रहरी अधिकारीले टेजरको साटो गल्तीले बन्दुक निकालेको र घटना भएको बताएका हुन् ।

प्रहरी अधिकारीले टेजर प्रहार गरेँ भन्दा गोली हानेको उनले बताए । यसलाई दुर्घटनाको रुपमा लिनु पर्ने प्रहरी अधिकारीले बताएका छन् । तर राइटको न्यायका लागि सम्पूर्ण प्रयास गरिने ब्रूक्लीन सेन्टरका मेयर माइक एलिओटले बताएका छन् । गोली प्रहार गर्ने प्रहरी अधिकारीलाई बिदामा पठाइएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.