Fast Nepal News
Before Breaking News

तेक्वान्दो च्याम्पियन सिपमा नेपाललाई चार स्वर्ण

काठमाडौँ,२४ कार्तिक । नेपालले काठमाडौंमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा आइतबार ४ स्वर्ण जितेको छ।नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले राजधानीमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका हुन्।  गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमलले पुरुष ४० वर्षमुनिमा स्वर्ण जितेका हुन्। त्यस्तै साग टिम पुम्सेका कांस्य विजेता जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन्।

४० वर्षभन्दा मुनि उमेरसमूहमा नाइजेरियाका अकान्डे सामुयलले रजत जित्दा मल्लवाराचिङ्गे नलका सम्पथ र नेपालका रामकुमार पोखरेलले कांस्य पदक हात पारे।  यसै गरी जितबहादुरले स्वर्ण जित्ने क्रममा नेपालकै प्रेमबहादुर लिम्बुलाई पछि पारे। नेपालका विवेक राई र मकाउका काई लियोङले तेस्रो स्थानमा चित्त बुझाए। पुरुषकै ५० वर्षमाथिको स्पर्धामा पनि नेपालका ईश्वरमान वज्राचार्यले स्वर्ण जिते। उनले नेपालकै विजय शाहलाई पछि पारे। महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन्। यस समूहमा उनले मात्रै प्रतिस्पर्धा गरेकी थिइन्।

पुरुष १७ वर्षमुनिको प्रतिस्पर्धामा म्यानमारका साई अङले पहिलो स्थान हात पारे। मलेसियाका एडम सुहाइमीले दोस्रो स्थान हात पार्दा सुरिनामका यसवीर गोपाल र मलेसियाका याप हानले तेस्रो स्थानमा चित्त बुझाए। महिलाको १४ वर्षमुनिको समूहमा सुरिनामकी चेएने तिजोई पहिलो, थाइल्यान्डकी कविनतिडा दोस्रो तथा भारतकी विजिता गोस्वामी र मलेसियाकी नारा नुर युसुफले तेस्रो स्थान हात पारे।

महिला १७ वर्षमाथिको स्पर्धामा भने चारवटै पदक मलेसियाका खेलाडीले जिते। फिलिस चीनले स्वर्ण, इफास हनिफले रजत तथा फराह मदारुस र विलियमिन लिनीले कांस्य जिते। महिलाकै ४० वर्षमुनिमा मेक्सिकोकी अना इस्पिनोसा पहिलो, नेपालकी रेखमाया गुरुङ दोस्रो र भारतकी अर्चना सामपाङ तेस्रो भए।

पुरुषको ५० वर्षमाथिको प्रतिस्पर्धामा मेक्सिकोका जुआन भेलास्कोले बाजी मारे। उनले नेपालका लक्ष्मणबहादुर ऐरलाई पछि पारे। भारतका प्रमित कुमार र नेपालका राजु नगरकोटीले तेस्रो स्थान हात पारे। पुरुषकै २१ वर्षमुनि मलेसियाका चाङ सुनले स्वर्ण जिते। नेपालका लक्ष्मण श्रेष्ठले रजत जित्दा नेपालकै सुजन चौधरी र कृष्णबहादुर बमजनले कांस्यमा चित्त बुझाए। महिलाको २९ वर्षमुनि मलेसियाकी मारर्लियन लियानले बाजी मारिन्। उनले नेपालकी पार्वती गुरुङलाई पछि पारिन्। नेपालकी निर्मला विक र मकाउकी कावा माकले कांस्य पदक पक्का गरे।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनाम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए्।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना भएको हो।  च्याम्पियनसिपमा यु–१०, यु–१२, यु–१४, यु–१७, यु–२१, यु–२९, यु–४०, यु–५० र ५० वर्षभन्दा माथिका उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो। महिला तथा पुरुषका लागि एउटै उमेरसमूह निर्धारण गरिएको थियो। हरेक उमेरसमूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको थियो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.