Fast Nepal News
Before Breaking News

मेसी बार्सिलोनामै रहे अध्यक्ष जोसेफ मारिया बार्तामेउ अध्यक्ष पद छाड्न तयार

स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए । उनले अध्यक्ष बार्तामेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्ध तोड्न आग्रह गरेका थिए । मेसीले क्लब छाड्ने पाउने समयसीमा पार गरेको र अझै एक वर्ष सम्झौताको अवधि बाँकी रहेपनि क्लब छाड्न चाहेका थिए । जसले गर्दा क्लबका अध्यक्ष बार्तामेउलाई थप दबाब परेको छ ।

टीभी थ्रीले रिपोर्ट गरेअनुसार यदि मेसीले सार्वजनिक रुपमा आफू क्याटलोनिया क्लबमा रहने घोषणा गरेमा बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने मार्काले पुष्टि गरेको छ । यसले दबाब अब मेसीमा सरेको छ । यस विषयमा मेसीले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

बार्सिलोनाका स्पोर्टिङ डिरेक्टर रोमा प्लान्सले पनि यसअघि पत्रकार सम्मेलनमा मेसीलाई केन्द्रमा राखेर आफूहरु टिम बनाउन तयार भएको बताएका थिए । साथै उनले मेसीलाई क्लबमा राख्न प्रयास गरिरहेको पनि बताएका थिए ।

पछिल्लो समय क्लबको खराब प्रदर्शन, साथी खेलाडीहरुबारे क्लबको निर्णय र बार्तामेउमाथि बढेको अविश्वासको कारण मेसी क्लब छाड्ने मनस्थितिमा पुगेका हुन् ।

च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको थियो । यस्तै खेलाडीको सम्झौताको विषयमा पनि क्लबसँग मेसीको मतभेद रहेको थियो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.