अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक-एक गोल गरेका थिए।
बङ्गलादेशका लागि सान्त्वना गोल महबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली,राखेप सदस्य सचिव रमेश सिलवाल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।