बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ।
युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन।
सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ।
यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ।
म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ। गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो। ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ।
इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन्। युरोपेली आयोगले पनि स्वीकृत भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ।