काठमाडौं । ललिता निवास प्रकरणमा ३२ करोड १९ लाख २० हजार रूपैयाँ बिगोसहित जफत गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मागदाबी गरेका कृष्णप्रसाद पौडेललाई सर्वोच्च अदालतले २ लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पौडेललाई सोमबार २ लाख रूपैयाँ धरौटी राखी छाड्न आदेश गरेको हो। मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौंले अनुसन्धानका लागि थुनामा पठाउने आदेश गरेको थियो।
यही असार ८ मा पौडेलले विशेष अदालतको आदेश कानुनविपरीत भएको र थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने माग गर्दै निवेदन दर्ता गरेका थिए। उनको निवेदनको मागअनुसार नै सर्वोच्चले धरौटीमा छोडेको हो। अख्तियारले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने पौडेल पहिलो व्यक्ति थिए।