Fast Nepal News
Before Breaking News

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

कोरोनाबाट आक्रान्त बनेको विश्व परिवेश अझै पनि यसबाट बाहिर आउन अनेक तिकडाम अपनाइरहेको छ।कोरोनाले बिश्व बजारमा मै हुँ भन्ने ठुला राष्ट्रलाई ठूलो धक्का लागीरहेको अवस्थामा हाम्रो जस्तो अति कम विकसित मुलुकमा यस्को असर/प्रभाव कहालीलाग्दो छ।यस्तो बिषम परिस्थितिमा एकजुट हुनुपर्नेमा राजनितिक दलका नेताहरु भने ‘फोहोरी दोहोरी’ खेल्नमै अभ्यस्त छन् ।

बजारले खराब परिस्थितिबाट अलिअलि उठ्न खोजिरहेको अवस्थामा प्रचण्ड-माधव समुहको नेकपाले आज नेपाल बन्द गर्यो ।यसै त, लामो समय चुपचाप बसेको अर्थतन्त्र अनि त्यस माथीको बन्दले आमनागरिकलाई कति मर्का पार्छ भन्ने कुरा बुझ्न गार्हो छैन।आमनागरिक सधै यिनिहरुको लाचारिपनाको सिकार बनिदिनुपर्ने? यिनिहरुलाई कुर्सीमा पुर्याउन हामीले टाउको फुटाउनुपर्ने? एकाबिहानै परिवार पाल्न सडकमा ट्याक्सी लिएर निक्लेका युवकको ट्याक्सी जलाईयो ।

अन्य ट्रक टोडफोड गरियो,सवारीसाधनबाट थुतेर सर्वसाधारणलाई कुटियो। यिनिहरुलाई कस्तो सम्वृद्धी चाहिएको हो?श्रमिकको भाग खोसेर देशलाई के दिन चाहेका हुन् ? माघ २३ गते ओली समुहले शक्ति प्रदर्शन गर्दैछ ।शक्ति प्रदर्शनमा झन्डै दुई लाख नागरिक सहभागिता हुने दाबी गरेको ओली समूहले सभा भने नारायणहिटी दरबार अगाडि गर्ने भएको छ ।

संसद् विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा दुईपटक शक्ति प्रदर्शनसहित विरोधसभा सम्पन्न गरेलगत्तै ओली समूहले पनि आफ्नो उपस्थिति देखाउनका लागि शक्ति प्रदर्शन गर्न लागेको हो । अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ ओली समूहले जनसभा आयोजना गर्न लागेको छ ।

गाउँ- गाउँबाट सोझा जनता उतारेर,मासु भात ख्वाएर भिड जम्मा गर्दा कसरी अराजकताको अन्त्य हुन्छ?शक्ति प्रदर्शनले कहाँबाट संविधानको रक्षा हुन्छ? काङ्ग्रेस चुपचाप छ।’झर्ला र खाउला’ भन्ने मनसाय बोकेर बसिरहेको छ।यिनिहरुलाई पद भन्दा बाकी केही चाहिएको छैन। नेपाल त्यो देश हो, जहाँका लाखौं युवा परिवार पाल्न खाडी मुलुक पुग्छ्न् ।अस्ति भर्खर १८ शव बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईयो।

परराष्ट्रमा पासपोर्ट बनाउनेको भिड कहिल्यै कम हुदैन ।कर्णालीमा सिटामोल नपाएर मर्नेको समाचार अखबारमा पढ्नुपर्ने बाध्यता छ।बेरोजगारीको संख्या कहालीलाग्दो छ। यति बिघ्न समस्याका बाबजुद पनि हाम्रा नेताहरु आनन्दको निन्द्रा लिन्छन् ।सनक चढ्यो कि,संसद बिघटन, अर्को संग रिस उठ्यो कि निर्वाचन ।खेल मैदान बनाएका छ्न् देशलाई।

के हामी अब यिनिहरुको जुलुसमा जाने? यिनिहरुले जे भने पनि,’ हो-हो’ भन्दै ताली पिटिरहने?यिनिहरुको हरेक गलत क्रियाकलापमा भागेदार भईरहने? वा यिनिहरुलाई अब तिमिहरु सच्चिउ,हैन भने खबरदार! हामी अब तिमी जस्ता बेकामेलाई भोट दिन सक्दैनौ भनेर खबरदारी गर्ने? यी प्रश्नको उत्तर खोज्ने र जवाफ दिने जिम्मा तपाईंको ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.