Fast Nepal News
Before Breaking News

केपी ओलीलाई दुबै पदबाट बहिर्गमन गर्ने पक्षमा दुई तिहाई स्थायी कमिटी सदस्य

फाइल फोटो

एउटा उखान चलनचल्तीमा छ, “थुतुनो जोगाउनु ।” प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो पछिल्लो अभिव्यक्तिका कारण विवादमा परेका छन् र उनकै पार्टीका अर्का अध्यक्ष लगायतका नेताहरुको आरोप उनले थुतुनो जोगाउन नसकेको विषयमा छ । पछिल्लो समय भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यस कार्यमा नेकपाका नेताहरु नै भारतको पछिलग्गु भएको भन्ने आशयका अभिव्यक्तिले फेरि एकपटक पूर्व एमाले र नेकपाका शीर्ष नेताहरु सशंकित हुँदै मंगलबारको बैठकमा ओली विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले वैठकको एजेण्डामै नभएका कुराहरुलाई उप्काउँदै प्रधानमन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिले पार्टी र देशकै कुटनीतिक मर्यादामा गंभीर असर पार्ने भन्दै स्पष्ट शब्दमा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा दिन माग गरे ।

मंगलबारको नेकपाको स्थायी कमिटीको बैठकको नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति तथा त्यससँगै नेकपाका अन्य नेताहरुलाई गोलमोटल शैलीमा भारतीय एजेन्टहरु भन्ने आशयपूर्ण शब्दावलीका कारण नेकपाका शीर्ष नेताहरु ओलीविरुद्ध खनिएका हुन् ।

मंगलबारको बैठकमा को–कसरी खनिए ओलीविरुद्ध ?

प्रचण्ड–

प्रचण्डले ओलीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश दिएको मात्र होइन, पार्टीकै नेताहरुमाथि अविश्वास यो देखिएको बताए । साथै विदेश सम्बन्धमा पनि प्रतिकुल असर पर्ने भन्दै यसबारे गंभिर छलफल गर्नुपर्ने भएको उनले बताए । साथै निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाए । कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको र झापातिरकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको उल्लेख गर्दै उनले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर प्रश्न गरे । प्रचण्डको प्रश्नको उत्तरमा ओलीले भारतको विरोध गर्दा पार्टीका नेताहरुको चित्त किन दुख्यो ? भन्दै प्रतिप्रश्न गरे र प्रचण्डले दल दर्ता र भारतले सरकार ढाल्न खोजेको प्रमाणबारे प्रष्ट नभएको बताए । साथै दल दर्ता कसले किन गर्न खोनेको हो, मलाई थाहा छैन । मचाहिँ नेकपाकै मान्छे हुँ, यो पार्टीको अध्यक्ष हुँ’ भन्न समेत भ्याए । सवाल–जवाफमा प्रचण्डले दल दर्ता र भारतले सरकार ढाल्न खोजेको प्रमाणबारे प्रष्ट नभएको बताउँदै ओलीको राजीनामा मागे ।

झलनाथ खनाल–

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका नेता खनालले ‘हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? भन्ने प्रश्न गर्दैस्पष्ट रुपमा प्रधानमन्त्रीको पदबाट ओलीको राजिनामा मागे । खनालले भने, ‘ओलीबाट सरकार र पार्टी दुबै चलेन ।’ उनले थपे, ‘पार्टीले हटाउँछु भन्यो भने केपी कमरेडले त्यसलाई मान्नुपर्छ । तनाशाहले जस्तो बलजफ्ती गर्न पाइँदैन’ उनले बैठकमा भने, ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं ।’

माधव नेपाल–
अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीप्रति आक्रामकरुपमा प्रस्तुत भएका थिए । उनले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको र त्यसले नै समस्या भएको बताए । मंगलबारको बैठकमा नेता नेपालले भने, ‘ओलीलाई विधि होइन, दास चाहिएको छ । पार्टी होइन, गुट चाहिएको छ ।’ यही कारण पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको त होइन भन्ने शंका लाग्न थालेको उनले बताएका छन् । उनले अघि भनेका छन्, ‘यो पार्टी साना दुःखले बनाएको होइन, सबैलाई चेतना भया ।’

बामदेव गौतम–
‘तपाई पार्टीको सबै ठाउँमा अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परेपछि स्वतः राजीनामा दिनुपर्ने हो, राजीनामा दिनुस् ।’ भन्दै उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागे । ओलीले आफ्नो कमजोरी कहिल्यै आत्मसाथ गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको बताए ।

नारायणकाजी श्रेष्ठ–
नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पनि भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका लागि कूटनीतिक र परराष्ट्र सम्बन्धमाथि खेलबाड भएको भन्द आपत्ति जनाए । श्रेष्ठले बैठकमा भने, ‘उहाँलाई त्यस्तो लागेको भए पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रमाण खोजेर राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपथ्र्योे ।’ प्रधानमन्त्री ओलीमा आफूलाई बम्हज्ञानी ठान्ने, फरक मत राख्नेहरुलाई सत्रु मान्ने, अरुलाई दास बनाउन चाहने, उपयोग गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘हिजोसम्म म यो सरकार सफल हुनुपर्छ भन्थेँ तर अब यो भन्न नसक्ने ठाउँमा पुगेको छु । हाम्रो पार्टीको सरकार सफल हुनुपर्छ भन्छु ।’

त्यसैगरी आक्रामक शैलीमा प्रस्तुत भई ओलीको राजीनामा माग्नेमा स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्टलगायत थिए । अभिव्यक्ति राख्ने सबै नेताहरुले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति गलत भएको धारणा राखेकका छन् । आज बोल्ने सबै नेताहरुको धारणा समान थियो, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँ (ओली)ले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । नैतिक प्रश्न पनि उठ्यो, अब मार्गप्रशस्त गर्नुस् ।’

स्थायी कमिटिमा को –कसका पक्षमा ?

ओली समूह (१३ जना)
केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा र विष्णु रिमाल ।

प्रचण्ड समूह (१७ जना)
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, हरिबोल गजुरेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, देव गुरुङ, लेखराज भट्ट, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल ।

माधव नेपाल समूह र बामदेव (१४ जना)
माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुसाल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.