Fast Nepal News
Before Breaking News

आत्महत्या: कारण र समाधानका उपायहरु – भानुभक्त ढकाल

१६ साउन,काठमाडौं,भानुभक्त ढकाल।आत्महत्या “आत्म ” र “हत्या “मिलेर बनेको शब्द हो, जसको शाब्दिक अर्थ केलाउने हो भने आत्म भनेको आफ्नै( स्वयम् )र हत्याको अर्थ समाप्त( खतम)हुन आउँछ।कुनै पनि व्यक्तिले जानिजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्य आत्महत्या हो।आत्महत्या गर्ने मध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरुले पुष्टि गरेका छन् ।आत्महत्याका पछाडी शारीरिक ,मानसिक र व्यवहारिक कारणहरु विधमान हुन्छन् ।

 चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अगाल्छ।संसारभर बढी आत्महत्या हुने मुलुक मध्ये नेपाल सातौ स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन्   ।आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।नेपालमा बर्सेनि झण्डै ९००० मानिसले आत्महत्या गर्ने गरेका छन् । विश्वमा प्रति वर्ष १० लाख मानिसहरुले आत्महत्या गर्ने गरेको तथ्यांक पाईन्छ।हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् ।१५-२९ वर्ष उमेर समुहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणको रुपमा रहेको छ।

डिप्रेसनलाई आत्महत्याको मुख्य कारण बताईएको छ।महान समाजशास्त्री दुर्खाइम र हेन्दिनले आत्महत्याका बारेमा विकास गरेका सिद्धान्तहरुलाई केलाउने हो भने मानिसलाई “डिप्रेस्ड” बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरुले गर्दा मानिसहरुले आत्महत्या गर्न सक्दछन् । रोगहरु जस्तै:क्यान्सर तथा एड्सबाट प्रताडित मानिस,परिक्षामा असफलता ,प्रेममा बिछोड तथा असफलता,कष्टदायक वैवाहिक जिवन,अवैध गर्व,व्यापार व्यवसायमा घाटा तथा क्षति,धेरै ऋण,सामाजिक अपमान तथा वहिस्कार,आत्मसम्मानमा ठेस,प्रियजनको मृत्यु ,मानसिक विचलन,मधपान तथा द्रुव्यसन,पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता,यौन समस्या ,दाइजो सम्बन्धि समस्या,घरेलु हिंसा तथा पारिवारिक कलह,वेरोजगारी तथा आर्थिक समस्या ,वलात्कारको पीडा,आत्महत्याको पारिवारिक इतिहास आदि ।

जब मान्छेले जिन्दगीमा अगाडि बाटो देख्दैन,उ निराशावादी बन्छ र आत्महत्याको बाटो अपनाउछ। जब मानिसलाई अरुले आफुलाई वेवास्ता गरेको भान हुन्छ तब अरुको ध्यान केन्द्रित गर्न पनि मान्छेले आत्महत्या गर्ने अनुसन्धानहरुले देखाएका छन् ।स्वस्थ दिमाग हुने मान्छेले जिवनमा आएका बाधा अवरोधलाई छिचोलेर अगाडि बढ्छ भने कमजोर मानसिकता हुने मान्छेले अगाडि बाटो देख्दैन् र फलस्वरूप आत्महत्याको बाटो अपनाउछ।

समग्रमा मानसिक विचलन नै आत्महत्याको प्रमुख कारण हो। व्यक्तिमा अचानक आएको परिवर्तन,उसको दैनिकी हाउभाउ र व्यवहारमा आएको परिवर्तनलाई बुझेर त्यस समयमा ढाडस दिने र हौसला दिने हो भने आत्महत्या गर्नबाट बचाउन सकिने डा• कमल गौतम बताउनुहुन्छ ।आत्महत्या समस्याको परिणाम हो।आत्महत्याको जोखिममा परेका व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभूति र सुनाई हो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.