Fast Nepal News
Before Breaking News

वडासम्मको पार्टी कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ- बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।

“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने-छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए। उनले भने, “सङ्गठन निर्माणमा महिलाको सुनिश्चितता मूलमन्त्र बनाउनुस्, सहभागिता अनिवार्य हुनेछ ।” नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले ‘गुट होइन पार्टी’ निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको उनले बताए ।

बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए । “केही नेताका देखिएको प्रवृत्तिले नेकपामा अविश्वास पैदा भयो, नेकपा त्यस्तो पार्टी होइन, मै खाऊँ–मै लाऊँ र सुखसयल मै गरू भन्ने”, उनले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताका कारण पूर्वमाओवादी, विद्रोही समूह, आम श्रमिक वर्ग र आम नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले सङ्गठन विस्तार एवं पार्टी प्रवेश कार्यक्रम उपलब्धिमूलक भएको दाबी गरे ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.