Fast Nepal News
Before Breaking News

मन्थली नगरपालिका वडा न. ३ का वडाध्यक्ष केशव कुमार रोकासँगको विशेष कुराकानी

सुरज पौडेल

विद्यार्थी जीवनकाल देखी राजनीतिमा सक्रिय हुँदै हालसम्म जनताको सेवाका निम्ती आफ्नो जीवन समर्पण गर्नुभएका रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.३ को वडाध्यक्ष तथा नेपाली काँग्रेसका नगर सभापति समेत रहनुभएका केशव कुमार रोकासँग बर्तमान राजनैतिक स्थिती , उहाँको वडाको बस्तुस्थिती र उहाँको भूमिका बारे गरिएको छोटो कुराकानी ।

प्रश्न – यहाँ राजनीतमा कसरी प्रवेश गर्नुभयो ?

उत्तर –मेरो जन्म नै एक राजनीतिक पृष्ठभूमी भएको परिवारमा भएको थियो । मेरो हजुरबुवा प्रधानपञ्च हुनुभएको थियो। त्यसैले मेरो बाल्यावस्था देखि नै मैले राजनीतिलाई चाहेर होस या नचाहेर प्रत्यक्ष नियाली रहनुपर्यो । पछि जसो जसो म हुर्किदै गए तसो तसो म पनि राजनीति प्रति आकर्षित हुन थाले । जब म आफ्नो एस एल सि सकेर २०४२ सालमा त्रिचन्द्र कलेजमा अध्ययनरत थिए त्यसै समयबाट म ने.वि.संघमा आबद्ध भएँ र आजको दिनसम्म निरन्तर रुपमा लागी रहेको छु ।

प्रश्न –विद्यार्थी जीवनबाट राजनीतिक यात्र शुरु गर्नुभएको रैछ, यता जिल्लामा चाहि कहिले देखि राजनीति गर्न थाल्नुभयो ?

उत्तर –यस्तो भयो, जब म नेविसँघमा थिएँ -नेपाली काँग्रेसको बार्षिक रुपमा वि.पि. कोईरालाको जन्म दिवस पारेर देशव्यापी रुपमा वृक्षारोपण गर्दै आएको थियो ।म पनि त्यही कायक्रम लिएर २०४३ सालमा म लगायत अरु ५ जना साथी जिल्ला आयौ,जिल्लामा आउँदा तत्कालिन प्रशासनले म लगाएत मसँग आएका अरु ५ जना साथीहरुलाई पनि पक्राउ गर्यो र अनुसन्धानकै क्रममा ३,४ दिनसम्म रामेछाप प्रहरी चौकीमा राखेर अरु साथीहरुलाई छाडीयो । म र ध्रुवहरी ढुगेंललाई धनुषा जिल्लाको सदरमुकाम जलेश्वर चलान गरियो र हामीलाई संघसँस्था नियन्त्रण नियमावलि ऐन अनुसार मुद्दा चलाईयो र ६ महिनाको जेल बसाईपछि बल्ल जनकपुर अञ्चल अदालतले हामीलाई धरौटीमा छाड्ने वा नीजले धरौटी तिर्न नसकेमा ३ बर्ष सम्म जेल सजाय भोग्नु पर्ने भन्ने फैसला गरयो । र हामी दुवैजना धरौटी मा छुटयौ यद्यपि मुद्दा भने चलिनै रहयो । अनि २०४६ सालको जनआन्दोलनले पञ्चायत सासन व्यवस्थालाई पराजीत गरि बहुदल आयो र बहुदल पश्चात पहिलो पधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईले सम्पूर्ण राजबन्दी मुद्दा लागेकाहरुको मुद्दा खारेज गरे सँगसँगै हाम्रो मुद्दापनि खारेज भयो । त्यसपछि २०४९ सालमा आम निर्वाचन हुने भयो र २०४८ सालदेखि पार्टीको प्रचार प्रसारमा खटिएँ र २०४९ सालको निर्वाचनमा स्वयं म पनि जिल्ला विकास समिती सदस्यमा निर्वाचित भएँ । त्यस समयदेखि विद्यार्थी राजनीति छाडी जील्ला स्तरीय राजनीतिमा सक्रिय भएँ ।

प्रश्न –विद्यार्थीकाल देखी नै राजनीति गर्नुभएको रहेछ यहाँका धेरै समकालिन साथीहरु केन्द्रमा पुग्नु भयो होला कति लाभ लिने ठाउँमा पनि पुग्नु भयो होला। यहाँलाई कहिलेकाहि पछाडी परेको जस्तो लाग्दैन ।

उत्तर –मानिस सवैभन्दा पहिला सन्तुष्ट हुनुपर्छ। म यहि स्थानीय राजनीतिमै सन्तुष्ट छु। अवसर नै पाईहालेमा केन्द्र लगायत महत्वपूर्ण पदमा नजाने भन्ने कुरै हँदैन ।फेरी राजनीति भनेको पदको लागी भन्दा पनि जनताको लागि गर्ने हो । कुनै किसीमको लाभ लिन राजनीति गर्ने हैन ।यदि त्यसो हो भने त व्यापार व्यवसाय गरे भै हाल्यो नी । समकालिन को कुरा गर्नु भयो ,हो मेरै धेरै समकालिनहरु सांसद,मन्त्रीहरु भएहोलान म त्यसमा खुशिनै छु ।

प्रश्न- तपाईलाई लाग्दैन अहिलेको राजनीति भनेको पैसा हुनेले मात्र गर्न सक्छ ?

उत्तर- तपाईले भन्नु भएको कुरा एकदम सत्य नजिक छ । पहिलाको समय र आजको समय फेरिएको छ । पहिलाको समयमा विचार हुनेले राजनीति गर्ने हो तर अहिलेको समय पैसा हुनेले राजनीति गर्ने हो । पहिला विचार लगन र राजनीति एक अर्काको परिपुरक थिए भने अहिले पैसा र राजनीतिक एक अर्काको परिपुरक भएका छन । नेताहरुमा ब्यक्तिवादी चरित्र हावी भएको छ पार्टीभित्र गुटगत चरित्र सँस्थागत जतिकै भएको छ । नातावाद कृपावादले यो देश चलेको छ । वास्तवमा सोझा साझा कार्यकर्ता, निमुखा जनतालाई त यो देशमा बाँच्नै गारो छ ।

प्रश्न –भने पछि तपाईलाई राजनीति प्रति नै नैराश्यता भएको हो कि नेपाली काँग्रेसप्रति ?

उत्तर –त्यो तपाई आफै बुझ्नुस। राजनीतिक पृष्ठभुमी भएका नेता कार्यकर्ता पाखा लाग्दै छन भने गैर राजनीतिक व्यक्तिहरु भने ठुला नेताका काख लाग्दै छन । अनि कसरी हुन्छ त जनअपेक्षा अनुरुपका काम र विकास ।

प्रश्न –कतै नेपाली काँग्रेस आजको दिनमा बत्ति बालेर खोज्नु पर्ने भएको कारण पनि यहि नै त होईन ?

उत्तर -यहाँले भन्नुभाको जस्तै बत्ति नै बालेर खोज्नु पर्ने अवस्था चै भएको छैन । अहिले हामी दोश्रो पार्टी हौ। गएको निर्वाचनमा दई ठुला दल मिलेर लडेका हुनाले स्वभाविक रुपमा उहाँहरुको मत धेरै आएको हो। पुरै देशै कम्युनिष्टमय भएको समयमा हामीले एकदम स्वभाविक र सम्मानजनक मत त ल्याएकै हौ नी ।अव हेर्नुस न फेरी पहिलो पार्टी हुने भनेको काँग्रेस नै हो काँग्रेस प्रति जनताको भरोसा जति थियो नी, झन बढदैछ ।

प्रश्न –तपाई भन्नु हुन्छ अब फेरी पहिलो पार्टी काँग्रेस नै हो तर काँग्रेसले त वि.पिको समाजवाद त्यागेर स्वेच्छाचारी ढंगले चलेको छ अनि कसरी काँग्रेसलाई जनताले पत्याउने ?

उत्तर –यस कुरामा भने म रतिभर पनि सहमत छैन यदि काँग्रेसले वि.पि को समाजवाद त्यागेको भए यो काँग्रेस पार्टी नभएर अरु नै पार्टी भैहाल्थ्योनी काङ्ग्रेस आजसम्म पनि विपिले तय गरेको बाटोमा अविचलित भएर निरन्तर रुपमा लागिरहेको छ । अनि फेरी एमाले र माओवादी केन्द्रले जनता प्रति गरेको विश्वासघातले जनताको निराशा चरम विन्दुमा पुगेको छ । र आज पनि जनताको नेपाली काँग्रेस प्रतिको भरोसा त्यति नै छ ,जुन विगतमा थियो ।

प्रश्न –अनि यहाँ तपाईको नगरमा चाहि नेपालि काँग्रेसको सँगठन कस्तो रहेको छ ?

उत्तर-सँगठन राम्रो भएको भए त हामीले नगर प्रमुख नै जितीहाल्थियौ नी। तर पनि हाम्रो संगठन निराशाजनक भने छैन त्यही भएर त केही वडामा हामीले जित हासिल गर्यौ । तर अहिले समयले कोल्टे फेर्दै छ अहिले सँगठन राम्रो हुँदै छ । कसैको लोभ प्रलोभनमा परेर भत्किएको सँगठन पूर्नगठन हुँदैछ । अब हामी हाम्रो नगरमा पनि शसक्त रुपमा खडा हुन सक्ने अवस्थामा छौं ।

प्रश्न – कतै फेरी पनि पहिलाको जस्तै हुने त हैन?

उत्तर –हैन त्यो त अव २ वर्ष पछिको निर्वाचनले नै बताई हाल्छ नी ह। एउटा कुरा के चाहिँ सत्य हो भने नेपाली काँग्रेस भित्र घात अन्तर्घात चाही नै छ । यदि नेपाली काँग्रेस डराउनु पर्छ भने उ स्वयं आफैसँग डराउनुपर्छ र मुख्यत काँग्रेस आजको दिनमा यो अवस्थामा पुग्नु पनि आफ्नै कारणले हो ।

प्रश्न –तपाई निर्वाचित भएर आएपछि जनतालाई देखाउनु भएको सपना कतिको पुरा गर्नु भयो ?

उत्तर –जनतामा मैले भ्रम फैलाएर कुनै सपना देखाएको थिईन म भ्रमको राजनीति गर्ने ब्यक्ति हैन । म यथार्थवादी हुँ,त्यसैले त मेरा नगरका वडावासी म प्रति विश्वस्त हुनुहन्छ । मैले जे वाचा गरेको थिए कति पुुरा भए कति क्रमश पुरा हुँदैछन ।

प्रश्न –तपाईहरु प्रति जनअपेक्षा त धेरै थिए होलान नी, हैन ?

उत्तर –यहाँ मात्रै हैन, नेपालभरि नै तत्कालिन शसस्त्र माओवादीको विद्रोहको शुरुवात पछि गाउँ वडा जनप्रतिनिधी विहीन थियो । त्यसैले जनताले गुनासा पोख्ने कुनै ठाउँ थिएन । विकासको कुनै सुनिश्चितता थिएन जनता आफ्नो आवाज दबाएर बाँच्न बाध्य थिए । जव हामी निर्वाचित भयौं, स्वभाविक रुपमा जनअपेक्षा धेरै थिए। फेरी जति खेर हामी निर्वाचित भयौ, हामी पहिलो लोकतान्त्रीक गणतन्त्रको पहिले निर्वाचित जनप्रतिनिधि भएको कारणले पनि नियम कानुन आफैले बनाउदै कार्यान्वयन गर्दै जानुपर्ने थियो अलिकति अलमल त्यसमा पनि भयो । अनि फेरी भुकम्पले सम्पुर्ण नेपालको भुमीलाई नै थलथल बनाएको थियो । सवैका घर लडेका थिए कसैका चर्केका थिए । त्यसैले हामीले पहिलो कार्य जनताका वासका निम्ती गर्नु पर्ने भयो र जनताका घर पुनःनिर्माण गर्नका लागि ढुगां ,सिमेण्ट रड लगायत कच्चा पदार्थ लैजान भौगोलिक दृष्टिले हामीलाई सारै गारो थियो र आवास निर्माणमा सहज पार्न , आर्थिक घटाउन हामीले पहिला बाटो खोल्नु पर्यो। हामीले प्रत्येक घरमा बाटो पुर्याएका छौं । विकासका केही काममा अगि बढदै थियौं ,विश्वलाई आक्रान्त पारिरहेको कोरोना जस्तो महामारीले हामीलाई पनि छोयो र फेरी अहिले दोश्रो चरणको कोरोना महामारीले फेरी असर पार्दैछ ।

प्रश्न –जनविकासको काममा कतिको सन्तुष्ट हुनुहुन्छ ?

उत्तर –म आफैं त्यति सन्तुष्ट हुन सकिरहेको छैन ।नगरको सिमीत श्रोत साधनबाट विकासका असिमित कामहरु गर्नुपर्ने छ। जुन कुरो तत्कालै असम्भव पनि छ तर पनि क्रमश रुपमा कामहरु घटाउँदै लगिसकेका छौं । अब ८ , १० बर्षमा मेरो वडा पूर्ण रुपमा विकसीत हुन्छ ।

प्रश्न-भने पछि आगामी निर्वाचनमा फेरी उम्मेदवारी दिने मनशाय बनाउनु भएको छ कि क्या हो ?

उत्तर –हैन त्यो कदापी हैन। फेरी उठने मेरो कुनै मनशाय छैन म त अरुले पनि चान्स पाउनु पर्छ भन्ने ब्यक्ति हुँ ।अब अरु नै कुनै नयाँ अनुहार आउनु पर्छ । जो ब्यक्ति समाजसँग भिजेको र राजनैतिक चरीत्र भित्रको होस भन्ने चाहन्छु ।

प्रश्न –कतै तपाईको दृष्टि अब मेयरतिर त परेको हैन ?

उत्तर –त्यसो पनि हैन तर पार्टीको निर्णय भयो भने मेयर मात्रै हैन वडा सदस्य कै पनि उम्मेदवार बन्नु पर्ने हुन्छ । हामी निष्ठावान राजनीतिज्ञ पार्टीको निर्णयलाई सर्वोपरि मान्दछौं । तर के चै पक्कै हो भने मेयर हुँदा खेरी राम्रो नीति नियम बनाएर प्रभावकारी र जनमुखी काम गर्न भने चैं सकिने रहेछ । मेरो अहिलेको सपना पनि त्यही हो भौगोलिक विकटताले पिरोलेको मेरो समाज परिर्वतन भएको हेर्न चाहन्छु । कष्टकर जीवन बाँच्न बाध्य मेरा दाजुभाई दिदी बहिनी र आमाबुबा को निम्ती सहजरुपमा जीवनयापन गर्ने बनाउन म मेरो अन्तिम सास रहुन्जेल सम्म पनि म सक्रिय रहने छु ।

प्रश्न- हस ,यहाँले भने जस्तै यहाँको वडावासीको नगरवासीको भौगोलिक विकटताले कठिन बनाएको दैनिक जीवनलाई सहज बनाउे सपना पुरा होस । हामीलाई यहाँको महत्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ ।

उत्तर-म र यस नगरको मेरो पार्टी भित्रको अवस्था अनि मेरो वडाको विषयमा केही प्रष्टयाउने मौका दिनुभएकोमा फाष्ट नेपाल न्युज परिवारलाई धेरै धेरै धन्यवाद छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.